सुनसरी। सुनसरीमा सशस्त्र प्रहरीले २५ लाख ४० हजार ९८३ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले कात्तिक १ देखि १० गतेसम्म नेपाल भारत सीमा क्षेत्रबाट भन्सार छली गरी भित्र्याइएका किराना सामान,लत्ताकपडा तथा सवारीसाधन बरामद गरेको हो।

सशस्त्र प्रहरीले मंगलबार मात्रै बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजार क्षेत्रबाट १० लाख ५० हजार बराबरका लत्ताकपडा र दुईवटा मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख लवकुमार सापकोटाले जानकारी दिए।

प्रमुख सापकोटाका अनुसार १० दिनको अवधिमा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाईको प्रतिक्रिया