काठमाडौं, १० कात्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख चाडपर्व सकिएलगत्तै सडक आन्दोलन गर्ने विपक्षी दलहरूको घोषणाको आलोचना गरेका छन् । पटकपटक सरकारविरुद्ध आन्दोलन गर्दा, सरकार परिवर्तन गरिरहँदा विकासका काम र जनताका इच्छा र चाहना पूरा हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

विपक्षी दल एमाले र नेकपाले प्रमुख चाडपर्व सकिएलगत्तै आन्दोलन गर्ने घोषणा गरेका छन् । वर्तमान रास्वपा सरकार देशका सम्पदा जलाएर र निहत्था बालबालिकालाई मानव ढाल बनाएर जेनजी आन्दोलनमार्फत आएको भन्दै आन्दोलनबाट विस्थापित गर्ने एमाले र नेकपाले घोषणा गरेका छन् ।

प्रमुख चाड दसैं सकिएको र अब तिहार र छठपछि आन्दोलन गर्ने दुवै दलले तयारी गरेका छन् । नेकपाले डेढ महिना लामो जनगुनासो सुन्ने अभियान सुरु गरेको छ । एमाले भने सबै मोर्चाबाट सरकारविरुद्ध फायर खोल्ने पक्षमा छ ।

वर्तमान सरकारको हिस्सा नभए पनि बाबुरामले सल्लाह र सुझाव दिँदै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँच वर्ष काम गर्न दिनुपर्ने पक्षमा बाबुराम देखिएका छन् । 

‘प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्वनापूर्ण र चिन्ताजनक छ। उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिष्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना(प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो,’ उनले भनेका छन्, ‘परन्तु निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा, जुन देशले विगतमा पटकपटक भोग्यो र त्यसको दुष्परिणाम देखिसक्यो, अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भूमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ ?’

बाबुरामले सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गर्न र हटाउन सल्लाहसमेत दिएका छन् । ‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ१ काम नगरे वा विगारे अर्को चुनावबाट विदा गरौं,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया