विराटनगर । सुनसरीको इनरुवामा दुई जनाले धारिलो हतियार प्रहार गर्दा एक जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का एक जना फरार छन् ।
प्रहरीका अनुसार इनरुवा नगरपालिका–२ का ३९ वर्षीय अकतर खानमाथि बिहीबार राति करिब १०ः५० बजे धारिलो हतियार प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार सोही स्थानका ४० वर्षीय बहाब अन्सारी र ४५ वर्षीय नवाब अन्सारीले खानमाथि चक्कु प्रहार गरेका थिए ।
घटनामा खानको टाउको, ढाड र दाहिने हातमा चोट लागेको छ । घाइतेलाई सुरुमा जिल्ला अस्पताल इनरुवामा उपचार गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते खानको अवस्था मध्यम छ । उनी बोल्न सक्ने अवस्थामा छन् ।
घटनामा संलग्न रहेको आरोपमा नवाब अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका बहाब अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना के कारणले भएको हो भन्ने विषय खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





