जनकपुर– धनुषाको जनकपुरमा एक बालिका र एक युवकमाथि दुर्व्यवहार गरी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिँदै उनीहरूका अभिभावकबाट ६ हजार रुपैयाँ असुल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पीडितलाई घेरा हाली दुर्व्यवहार गरेको, भिडियो बनाएको र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले भिडियो सार्वजनिक गरिदिने भन्दै पीडितका अभिभावकलाई फोनमार्फत धम्क्याएका थिए। त्यसपछि मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँ पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको आशंकामा प्रहरीले ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया