लेटाङ । मोरङको लेटाङ नगरपालिका–५, डिल्लीचोकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय पैदलयात्री दलबहादुर विकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार कात्तिक ४ गते साँझ ६:५० बजे चिल्ड्रेन पार्कबाट डिल्लीचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ६३८० नम्बरको मोटरसाइकलले लेटाङ–५ निवासी विकलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि नगर अस्पताल लेटाङ लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक लेटाङ नगरपालिका–८ निवासी १७ वर्षीय तामिल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ

तपाईको प्रतिक्रिया