काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ सम्मको सरकारको खर्च विवरण सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार सरकारले यस अवधिमा १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेकामा ३ खर्ब १ अर्ब २८ करोड १६ लाख संकलन गरेको छ।

१५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्वको लक्ष्यमध्ये कर राजस्वतर्फ २ खर्ब ७९ अर्ब ३९ करोड ५० लाख र गैरकर राजस्वतर्फ १९ अर्ब ३४ करोड ३२ लाख गरी २ खर्ब ९८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखिए पनि यस अवधिमा वैदेशिक अनुदान शून्य छ भने अन्य स्रोतबाट २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ।

सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख विनियोजन गरेकामा कात्तिक ४ सम्म ३ खर्ब ९६ अर्ब २६ करोड ६८ लाख खर्च गरेको छ। यसमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख चालू बजेटबाट २ खर्ब ९१ अर्ब ६५ करोड ६६ लाख खर्च भएको छ।

विकास निर्माणतर्फको पुँजीगत खर्च भने निकै सुस्त देखिएको छ। ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा यस अवधिमा २८ अर्ब ४२ करोड २३ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल लक्ष्यको ६.५९ प्रतिशत मात्र हो।

यस्तै वित्तीय व्यवस्थापनतर्फ विनियोजित ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँमध्ये ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। समग्रमा, साधारण खर्च र वित्तीय व्यवस्थापनको तुलनामा पुँजीगत खर्च निराशाजनक देखिएको छ।

तपाईको प्रतिक्रिया