काठमाडौं। नेपाल प्रहरीले दसैंतिहार, छठ तथा नेपाल संवतई लक्षित गर्दै देशभर ५० हजार बढी जनशक्ति परिचालन गरेको छ।
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबाट जोगाउन सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। ती कक्षबाट २४ सै घन्टा सेवा प्रदान भइरहेको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरिएको छ। केन्द्रीय एकीकृत सुरक्षा योजनाका आधारमा जिल्ला सुरक्षा समितिमार्फत स्थानीय आवश्यकताअनुसार सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।
चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राजमार्ग तथा प्रमुख सडकखण्डमा निगरानी बढाएको छ। विशेषगरी काठमाडौँको नागढुंगा हुँदै चितवन जोड्ने सडक खण्डसहित प्रमुख लोकमार्गमा सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरिएको प्रवक्ता काफ्लेले बताए।
लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्नुअघि चालकको अनुमतिपत्र जाँच गर्नुका साथै मादक पदार्थ तथा लागुऔषध सेवन गरे नगरेको परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परीक्षणपछि मात्रै लामो दूरीका गाडीलाई प्रस्थान अनुमति दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको काफ्लेले बताए।
प्रहरीले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित यात्रा गर्न, अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न र कुनै शंकास्पद गतिविधि देखिएमानजिकको प्रहरी कार्यालय वा नागरिक सहायता कक्षमा जानकारी गराउन आग्रह गरेको छ।





