काठमाडौं। दसैंं, तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा पनि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरको ठेगानासम्म निःशुल्क ढुवानी हुने भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वका समयमा समेत शव ढुवानी सेवा निरन्तरता दिन चौबिसै घण्टा सेवा सञ्चालन हुने गरी सम्पर्क कर्मचारी तथा शव ढुवानी सेवा प्रदायकहरू तोकेको छ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ (क) अनुसार वैदेशिक रोजगारी क्रममा मृत्यु भएका श्रमिकको शव त्रिभुवन विमानस्थलबाट सम्बन्धित श्रमिकको घर ठेगानासम्म निःशुल्क ढुवानी हुँदै आएको छ।चाडपर्वका बेला पनि सेवा सहज र व्यवस्थित सञ्चालन गर्न बोर्डले सम्पर्क कर्मचारी तोकेको हो।
बोर्डका अनुसार शव ढुवानी सम्बन्धी जानकारी वा समन्वय आवश्यक परे सूचना अधिकारी तथा प्रवक्ता शारदा भण्डारी र सुरज ढुंगानालाई सम्पर्क गर्न सकिने छ।
त्यस्तै शव ढुवानी सेवाका लागि सेती गणेश सप्लायर्स, आरडी ढुवानी सेवा, बुद्धध्वज ढुवानी सेवामा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ। बोर्डले शव ढुवानी सेवा निःशुल्क र निरन्तर सञ्चालन हुने भन्दै सम्बन्धित परिवारलाई आवश्यक समन्वयका लागि तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको टोल फ्री नम्बर ११४१ मा सम्पर्क गर्न सकिने छ। चाडपर्वमा समेत सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।





