जानु पाण्डे
कपिलवस्तु, कात्तिक २ गते । कपिलवस्तु प्रहरीले एकै बिहान जिल्लाका दुई स्थानबाट चार लाख ३४ हजार दुईसय रुपियाँ मूल्य बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा ल्याइएका सामान बरामद गरेको छ ।
शिवराजबाट तयारी कपडा तथा यशोधराबाट पटका, चिनी र खेलौना बरामद गरिएको हो । शिवराज नगरपालिका–१ शिवपुरीस्थित कोलनी चोकमा आइतबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट रोल्पातर्फ जाँदैगरेको लु २ ख २९६६ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा तीन लाख ३१ हजार दुईसय रुपियाँ मूल्यका बिलबिजक नभएका तयारी कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक आदर्श गिरीको कमान्डमा खटिएको सात सदस्यीय प्रहरी टोलीले बस जाँचगर्दा १६८ थान रेडिमेड हुडी र ९९ थान ट्राउजर फेला पारेको थियो । प्रहरीका अनुसार हुडीको अनुमानित मूल्य दुई लाख ५२ हजार र ट्राउजरको ७९ हजार दुईसय रुपियाँ रहेको छ ।
सोही बसमा ल्याइँदैगरेको आवश्यक कागजपत्र नभएको लु ५४ प २५५९ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी यशोधरा गाउँपालिका–५ ननवास्थित खेतको कच्ची बाटोबाट भारत हुँदै नेपालतर्फ ल्याइ लुकाइछिपाइ बेवारिसे अवस्थामा राखिएका एक लाख तीन हजार रुपियाँ मूल्यका चिनी, पटका र खेलौना प्रहरीले बरामद गरेको छ ।
प्रहरीचौकी म्यादपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर देउवाको कमान्डमा खटिएको गस्ती टोलीले बिहान करिब ७ बजे उक्त सामान फेला पारेको हो । बरामद सामान आवश्यक कारबाही तथा भन्सारमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु प्रहरीले दसैँ सुरु भए यता पछिल्लो १० दिनमा ९० लाख रुपियाँभन्दा बढी मूल्यका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइले विभिन्न स्थानबाट लत्ता कपडासहितका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएका हुन् ।





