विराटनगर । जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वित्त तथा हानि र नोक्सानीका क्षेत्रमा लामो समयदेखि क्रियाशील विराटनगरका युवा अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकारमा नियुक्त भएका छन्।
श्रेष्ठ नेपाल सरकारको विशिष्ट श्रेणीसरहको अवैतनिक सल्लाहकार पदमा नियुक्त भएका हुन्। उनलाई मन्त्रालयका नीतिगत तथा प्राविधिक विषयमा परामर्श दिने जिम्मेवारी प्रदान गरिएको छ।
श्रेष्ठले सन् २००९ मा सम्पन्न कोपेनहेगन जलवायु सम्मेलनदेखि निरन्तर रूपमा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई नजिकबाट पछ्याउँदै आएका छन्। एसियाका विभिन्न देशमा सरकारी निकाय, गैरसरकारी संस्था तथा नागरिक समाजसँग सहकार्य गर्दै जलवायु अनुकूलन र नीतिगत क्षेत्रमा काम गरेको उनीसँग लामो अनुभव छ।
बेलायतको युनिभर्सिटी अफ ससेक्सबाट प्रतिष्ठित चेभनिङ छात्रवृत्तिमा जलवायु परिवर्तन तथा नीतिसम्बन्धी विषयमा स्नातकोत्तर तह पूरा गरेका श्रेष्ठ जलवायु अभियान र अध्ययनका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। जलवायु परिवर्तनको क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले सन् २०१७ मा उनलाई राष्ट्रिय जलवायु परिवर्तन पुरस्कारबाट सम्मानित गरेको थियो।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या, अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा र हरित जलवायु कोषलगायतका अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच अभिवृद्धि गर्ने विषयमा श्रेष्ठको विज्ञता र अनुभव मन्त्रालयका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको हितलाई सशक्त रूपमा प्रस्तुत गर्ने प्रयासमा श्रेष्ठको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।
जलवायु परिवर्तनका अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्रीका सल्लाहकार नियुक्त
- भोजराज घिमिरे





