धनगढी । सनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सम्पन्न ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बनेका छन्। धनगढीस्थित होटल पौवामा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगिताको गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ योगी तृतीय र धर्मेन्द्र धामी चौथो रनरअप घोषित भए। त्यसैगरी, नृत्यतर्फ सिर्जना बीके प्रथम, उमेश परियार द्वितीय, रेस्मी ठगुन्ना तृतीय र सपना चुडारा चौथो रनरअप बने।

प्रतियोगिताको निर्णायक टोलीमा ग्राण्ड जज जेम्स जोशीसहित भवानी रेग्मी, नरेन्द्रराज रेग्मी र शमिर परियार रहेका थिए। कार्यक्रमको सञ्चालन अनिता धामीले गरेकी थिइन् भने सहनिर्माता प्रमिला सिलवालको पनि उपस्थिति थियो। कार्यक्रमको व्यवस्थापन तथा आयोजनाको नेतृत्व कार्यक्रम निर्देशक सुदीप जोशीले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताको नतिजा सार्वजनिक भोट र निर्णायकको मतका आधारमा निर्धारण गरिएको थियो। त्यसका लागि अन्तर्राष्ट्रिय भोट, ईसेवा भोटिङ र भोटिङ पासको व्यवस्था गरिएको थियो। प्रत्येक निर्णायकलाई ५०० मताधिकार दिइएको थियो भने अन्य माध्यमबाट असीमित मत दिन सकिने व्यवस्था थियो।

प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ नगद, चार लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर र अन्तर्राष्ट्रिय भ्रमणको पुरस्कार प्राप्त गर्नेछन्। प्रथम रनरअपले ७० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर पाउनेछन्।

त्यस्तै, द्वितीय रनरअपले ३० हजार रुपैयाँ नगद र दुई लाख रुपैयाँबराबरको अवसर, तृतीय रनरअपले १३ हजार रुपैयाँ नगद र एक लाख रुपैयाँबराबरको अवसर तथा चौथो रनरअपले पाँच हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमलाई अमेरिकास्थित केटीज स्मोकहाउसले मुख्य सहयोगीका रूपमा साथ दिएको थियो। ईसेवा भोटिङ पार्टनर, खबर एण्ड लाइभ मिडिया पार्टनर, भायानेट इन्टरनेट पार्टनर, डीजे अशोक साउण्ड सिस्टम पार्टनर, कालभैरव ज्वेलर्स सपोर्टिङ पार्टनर, एष्ट्रा कन्सल्टिङ ग्रुप शिक्षा पार्टनर र होटल रिस्ता होटल पार्टनरका रूपमा जोडिएका थिए। होटल पौवा कार्यक्रमको भेन्यु पार्टनर रहेको थियो।

आयोजक सनिश्चर म्युजिक कम्पनी प्रालिले प्रतियोगिताले सुदूरपश्चिम र कर्णाली क्षेत्रका प्रतिभालाई कला प्रस्तुत गर्ने, क्षमता विकास गर्ने तथा सांगीतिक र नृत्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर प्रदान गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया