- भोजराज घिमिरे

विराटनगर। विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको मन्टेश्वरी तहमा अध्ययनरत २५० विद्यार्थीले नेपाली चाडपर्व, संस्कार र संस्कृतिलाई व्यवहारमै प्रस्तुत गरेका छन्। दशैँ, तिहार, नेपाल संवत्, म्हः पूजा र छठ पर्वको महत्त्व, धार्मिक मान्यता तथा मनाउने विधिबारे विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको हो।
पाठ्यक्रममा नेपाली चाडपर्वसम्बन्धी विषय समावेश भए पनि ती पर्व कसरी मनाइन्छन्, तिनको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ र विभिन्न समुदायले कस्ता परम्परा अपनाउँदै आएका छन् भन्ने कुरा व्यवहारबाटै बुझाउन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
मन्टेश्वरी तहका प्ले ग्रुपदेखि कक्षा १ सम्मका विद्यार्थी सहभागी कार्यक्रममा नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वका संस्कार र परम्परालाई प्रदर्शन गरिएको थियो। विद्यार्थीले दशैँमा गरिने पूजाआराधना, तिहारका विभिन्न सांस्कृतिक गतिविधि, नेपाल संवत् तथा म्हः पूजाका विधि र छठ पर्वमा गरिने पूजाआराधनासहितका गतिविधि प्रस्तुत गरेका थिए।
कार्यक्रममा नवरात्रिका अवसरमा पूजा गरिने दुर्गा भवानीका विभिन्न स्वरूपमा विद्यार्थीलाई सजाइएको थियो। दुर्गा माताका स्वरूपमा सजिएका विद्यार्थीलाई पूजाआराधना गर्नुका साथै दशैँमा गरिने परम्परागत क्रियाकलाप र मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी गराइएको थियो। यसले बालबालिकालाई दशैँको धार्मिक तथा सांस्कृतिक पक्षबारे जानकारी लिन सहयोग पुगेको विद्यालयको विश्वास छ।
त्यसैगरी तिहारमा गरिने विभिन्न संस्कार र परम्परा, नेवार समुदायको मौलिक संस्कृति झल्काउने म्हः पूजाको विधि तथा छठ पर्वमा गरिने धार्मिक गतिविधिसमेत विद्यार्थीले प्रदर्शन गरेका थिए। विभिन्न चाडपर्वलाई समेटेर आयोजना गरिएको कार्यक्रमले बालबालिकालाई नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबारे नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले चाडपर्व केवल उत्सव मनाउने माध्यम मात्र नभई नेपाली समाजका संस्कार, संस्कृति र परम्पराका अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले नेपाली समाजमा पुस्तौँदेखि चलिआएका मौलिक परम्पराको संरक्षण गर्न बालबालिकालाई सानै उमेरदेखि त्यसबारे जानकारी गराउनु आवश्यक रहेको धारणा राख्नुभयो।
“हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ। त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रूपमा चाडपर्वको प्रदर्शन गरिएको हो,” प्रिन्सिपल पुरीले भन्नुभयो।
उहाँका अनुसार बालबालिकालाई पुस्तकमा लेखिएका विषय पढाएर मात्र पर्याप्त हुँदैन। उनीहरूले पढेका विषयलाई व्यवहारमा उतार्ने अवसर पाएमा त्यसको महत्त्व बुझ्न र लामो समयसम्म स्मरण गर्न सहज हुन्छ। यही उद्देश्यअनुसार विद्यालयले चाडपर्वसम्बन्धी विषयलाई प्रयोगात्मक सिकाइसँग जोडेर कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो।
एभरेष्ट माध्यमिक विद्यालयले शिक्षासँगै सीप, संस्कार र प्रविधिलाई पनि प्राथमिकता दिँदै आएको उल्लेख गर्दै प्रिन्सिपल पुरीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै व्यवहारिक अभ्यासलाई महत्त्व दिइएको जानकारी दिनुभयो। उहाँले बालबालिकालाई आफ्नो कला, धर्म, संस्कृति र संस्कारबारे सानैदेखि सिकाउन सके भविष्यमा मौलिक पहिचानको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो।
विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले विद्यार्थीमा आफ्नो संस्कृति र परम्पराप्रति चासो बढाउनुका साथै विभिन्न समुदायका चाडपर्वबारे जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो। बालबालिकालाई प्रत्यक्ष सहभागितामार्फत सिकाउने पद्धति प्रभावकारी बन्दै गएको उल्लेख गर्दै उहाँले आगामी दिनमा प्राथमिक तहका विद्यार्थीलाई समेत लक्षित गरी चाडपर्वसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला तथा अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोललगायतको उपस्थिति थियो।
नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई बालबालिकासम्म पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमले परम्परागत संस्कारलाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको विद्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया