चन्द्रौटा (कपिलवस्तु)।
दसैँका लागि घरखर्च जुटाउने उद्देश्यले खसीबोका बिक्री गर्न चन्द्रौटा बजार पुगेका चित्रबहादुर श्रपालीले आफूले अपेक्षा गरेको मूल्य पाएनन् । १७ हजार रूपैयाँमा बेच्ने सोचले बोको बजार ल्याएका उनले अन्ततः ११ हजार रूपैयाँमै बिक्री गर्नुप¥यो ।
वर्षभरि दुःख गरेर पालेको बोको अपेक्षाभन्दा छ हजार रूपैयाँ कममा बेच्नुपरेपछि श्रपाली निराश हुँदै घर फर्किए । विगतका वर्षमा दसैँ नजिकिँदा खसीबोकाको किनबेच बढ्ने चन्द्रौटा बजारमा यस वर्ष अपेक्षित कारोबार नहुँदा उनीजस्ता किसान मर्कामा परेका छन् ।

शिवराज नगरपालिका–४, चनईका इरफान खान पनि दुईवटा बोका बिक्री गरेर दसैँ खर्च जुटाउने आशासहित बजार पुगेका थिए । तर, लागतअनुसार मूल्य नपाउँदा उनी चिन्तित बने । “उचित मूल्य नपाए पनि बेच्न बाध्य छौँ,” उनले भने ।
कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्रमध्ये एक चन्द्रौटामा प्रत्येक मंगलबार पशु हाटबजार लाग्छ । यहाँ कपिलवस्तुसहित अर्घाखाँची, दाङ, प्युठान, रूपन्देही र नवलपरासीलगायत जिल्लाबाट किसान तथा व्यापारी खसीबोका बिक्री र खरिद गर्न आउँछन् । दसैँको मुखमा बिक्रीका लागि खसीबोका ल्याउने किसानको संख्या बढे पनि कारोबार भने विगतको तुलनामा कमजोर रहेको बजार व्यवस्थापन समितिले जनाएको छ ।

शिवराज नगरपालिका–३ स्थित एस बहुउद्देश्यीय कृषि फार्मकी सञ्चालिका सम्झना थारुले स्थानीय किसान तथा व्यवसायीले उत्पादन गरेका खसीबोकाले चाडपर्वको समयमा समेत उचित मूल्य पाउन नसकेको बताइन् । बिक्री नभएका खसीबोका अन्यत्र लैजाँदा ढुवानीलगायतका खर्च बढ्ने भएकाले लगानी उठाउनसमेत कठिन भएको उनको भनाइ छ ।
स्थानीय व्यवसायीले नेपाल–भारत खुला सिमानाका विभिन्न नाकाबाट अवैध रूपमा खसीबोका भित्रिने गरेको र त्यसले स्वदेशी

उत्पादनको बजार प्रभावित बनाएको गुनासो गरेका छन् । तर, चन्द्रौटा पशु हाटबजार व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कुद्दुसले भने हाटबजारमा चोरीतस्करीबाट ल्याइएका खसीबोका नआएको दाबी गरे ।

कुद्दुसका अनुसार बजारमा बिक्रीका लागि खसीबोका ल्याउनेको सङ्ख्या बढे पनि खरिद गर्ने उपभोक्ता अपेक्षाकृत कम छन् । दसैँ नजिकिएकाले बजारमा चहलपहल बढेको भए पनि विगतको तुलनामा कारोबार न्यून रहेको उनले बताए । स्थानीय किसानलाई प्राथमिकतामा राखेर बजार व्यवस्थापन गरिएको उनको भनाइ छ ।

दाङको घोराहीबाट खसीबोका खरिद गर्न आएका बेगमबहादुर खड्काले चन्द्रौटा बजारमा आफ्नो क्षमता र रुचिअनुसारका खसीबोका छनोट गर्न सहज भए पनि मूल्य नमिल्दा खरिद गर्न कठिन भएको बताए ।

व्यवस्थापन समितिले बजारमा खरिद गरिएका प्रत्येक खसीबोकाबापत ५० रूपैयाँका दरले रवाना शुल्क लिने गरेको जनाएको छ । समितिका अध्यक्ष कुद्दुसका अनुसार जग्गा भाडामा लिएर दुई दशकदेखि यहाँ पशु हाटबजार सञ्चालन हुँदै आएको छ ।
दसैँमा खसीबोका बिक्रीबाट घरखर्च जुटाउने किसानको अपेक्षा मूल्यमा आएको असन्तुलनले प्रभावित भएको छ ।

उत्पादन लागत, बजारको माग र बिक्री मूल्यबीच तालमेल नहुँदा किसान तथा बाख्रापालन व्यवसायीलाई लगानीको प्रतिफल प्राप्त गर्न कठिन भइरहेको छ । स्वदेशी उत्पादनको व्यवस्थित बजारीकरण र अवैध आयात नियन्त्रणका विषयमा प्रभावकारी पहल हुन नसके किसानले उचित मूल्य पाउने समस्या थप जटिल बन्न सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया