काठमाडौं। प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट सुन र नगद चोरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। असोज १८ मा उनीहरुले सुन र नगदसहित ८४ लाख ७६ हजार बराबरको चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
आरोपीलाई शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए।
आरोपीको साथबाट चोरी गरेको ६ तोला ८९ लाल सुनका गहना र २ लाख ७० हजार नगद प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ घर भएका २८ वर्षीय सिजल तामाङ, दोलखाको भीमेश्वर–७ घर भएकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगर–१६ घर भएका ३३ वर्षीय प्रकाश कटुवाल, काठमाडौँका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोट घर भएका ४५ वर्षीय जितबहादुर विश्वकर्मा छन्।





