विराटनगर । आईटीएफ तेक्वान्दोको २६औँ राष्ट्रिय प्रतियोगिता विराटनगरमा हुने भएको छ। मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता आयोजना हुन लागेको हो।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा हुने प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टोलीका गरी पुरुष ९० र महिला ८० सहित १७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ।

छनोट भएका खेलाडीले आगामी मंसिर ४ देखि ६ गते काठमाडौंमा हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
प्रतियोगितामा महासंघका प्रतिनिधि, अम्पायर, प्रशिक्षक, व्यवस्थापक तथा स्थानीय अम्पायरसहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले र समापन असोज २६ गते सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया