काठमाडौ । लामो समयदेखि सामाजिक गतिविधि र नेपाली कांग्रेसको राजनीतिमा सक्रिय युवा व्यक्तित्व विनोद कार्कीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
मोरङको पथरी शनिश्चरे – ६ घर भएका कार्की लामो समयदेखि काठमाडौंमा व्यवसाय गर्दै आएका छन्। व्यवसायसँगै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका कार्कीले देशका विभिन्न स्थानमा सामाजिक तथा मानवीय गतिविधिमा सहभागिता जनाउँदै आएका छन्। समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने, सामाजिक काममा अग्रसर हुने तथा समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने युवा व्यक्तित्वका रूपमा कार्कीको परिचय बनेको छ।
बौद्धिक, समाजसेवी र सहयोगी स्वभावका युवाका रूपमा परिचित कार्कीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्र निर्माणको जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राख्दै आएका छन्। पार्टी संगठनलाई समयानुकूल सुदृढ, गतिशील र जनमुखी बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ।
कार्कीले नेपाली कांग्रेसको नेतृत्वमा युवा पुस्ताको अर्थपूर्ण उपस्थिति आवश्यक रहेको बताउँदै आएका छन्। पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सोचलाई संयोजन गरेर मात्रै पार्टीलाई अझ बलियो र प्रभावकारी बनाउन सकिने उनको धारणा छ।
देशको समग्र विकास र रूपान्तरणका लागि युवाशक्तिको भूमिका निर्णायक हुने बताउँदै कार्कीले कांग्रेसलाई संगठनात्मक रूपमा थप मजबुत बनाउने, जनतासँगको सम्बन्ध अझ सुदृढ गर्ने र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लामो समयदेखि सामाजिक क्षेत्रमा गरेको सक्रियता, व्यवसायिक अनुभव, विभिन्न समुदायसँगको सम्बन्ध तथा कांग्रेसको राजनीतिमा रहेको सक्रियतालाई आफ्नो उम्मेदवारीको आधार बनाउँदै कार्कीले १५औँ महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मतसहित सहयोग र समर्थनका लागि आग्रह गरेका छन्।
उनले आफू निर्वाचित भएमा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै युवा पुस्ताको ऊर्जा, अनुभव र क्षमतालाई संगठन निर्माणमा जोड्ने तथा कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन्।
“देश बनाउन युवाशक्तिको अपरिहार्यता छ। युवाको सोच, ऊर्जा र क्षमता नेतृत्वमा स्थापित गर्न सके मात्रै संगठन र मुलुक दुवैलाई नयाँ गति दिन सकिन्छ,” कार्कीको धारणा छ।





