- भोजराज घिमिरे

विराटनगर। विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका एरिन जङ्ग थापा प्रथम भएका छन्।
‘सहभागी बनौँ, रूपान्तरण हुँदै अगाडि बढौँ, उत्कृष्टता हासिल गरौँ’ भन्ने विषयमा आयोजित प्रतियोगितामा विभिन्न १५ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा पोलस्टार स्कुलकी प्रकृति घिमिरे द्वितीय र बीकेभीएम स्कुलका जोसेफ महतो तृतीय भएका छन्।
प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा लेखक तथा कवि सीमा आभास, प्राध्यापक अनुज शर्मा र विराटनगर जुनियर जेसीजका पूर्वअध्यक्ष देवेश प्रधान रहेका थिए।
विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवस पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

तपाईको प्रतिक्रिया