हा लङ बेमा डुंगा दुर्घटनाः ३४ जनाको मृत्यु, ८ अझै बेपत्ता

भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आकस्मिक आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने ८ जना अझै बेपत्ता रहेका छन्।

‘वन्डर सी’ नामक डुंगामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। डुंगा युनेस्कोद्वारा सूचीकृत विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थियो।

भिएनएक्सप्रेस समाचार संस्थाका अनुसार ११ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धारकर्ताहरूले हालसम्म ८ बालबालिकासहित ३४ जनाको शव फेला पारेका छन् भने ८ जना अझै हराइरहेका छन्। खोजी तथा उद्धार कार्य जारी छ।

प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार शनिबार दिउँसो करिब २ बजे अचानक मौसम परिवर्तन भई आकाश अँध्यारो भयो। त्यसपछि भारी वर्षा, चट्याङ, हावाहुरी र असिना परेपछि डुंगा पल्टिएको हो।

उद्धार गरिएकामध्ये एक १४ वर्षीय बालक चार घण्टासम्म डुंगाको भित्री भागमा फसेका थिए। उनले गहिरो सास लिँदै पौडेर बाहिर निस्किएको र पछि उद्धार टोलीले उनलाई बचाएको जनाइएको छ।

डुंगामा सवार अधिकांश यात्रु हनोईबाट आएका परिवार थिए, जसमा २० भन्दा बढी बालबालिका थिए।

भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्हले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै सम्बन्धित निकायलाई तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन्।

– एजेन्सी

तपाईको प्रतिक्रिया