बिष्णुप्रसाद पोखरेल

दमक, असोज १२ गते । चाडपर्व नजिकिँदै गर्दा झापा प्रशासनले सर्वसाधारणका लागि अत्यावश्यक खाद्यान्न नुन, चामल र चिनीको आपूर्ति सहज बनाउने तयारी थालेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लामा खाद्यवस्तुको पर्याप्त मौज्दात कायम राख्दै सहज आपूर्ति र सहुलियत मूल्यमा बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत झापाका २५ भन्दा बढी विक्रेतामार्फत थोक रूपमा नुन उपलब्ध गराउने निर्णय गरेको छ । यसबाट जिल्लाका विभिन्न बजारमा नुनको नियमित आपूर्ति तथा वितरण सहज बनाउने लक्ष्य राखिएको छ ।

त्यस्तै, चाडपर्वका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले चामल, चिनी र नुन सहुलियत मूल्यमा बिक्री गर्ने निर्णय गरिएको छ ।

तत्काल सञ्चालन गरिने सहुलियत मूल्य पसलमार्फत जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ, सोना मन्सुली चामल ५७ रुपैयाँ, चिनी ११० रुपैयाँ र नुन २४ रुपैयाँमा बिक्री गर्ने व्यवस्था मिलाइएको झापाका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

बैठकले चामल, चिनी, नुनलगायत अत्यावश्यक खाद्य सामग्रीको पर्याप्त मौज्दात कायम राख्न तथा जिल्लाभर सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।

चाडपर्वको समयमा खाद्य सामग्रीको माग बढ्ने भएकाले कृत्रिम अभाव, कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

बैठकमा कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख दीपककुमार राजवंशी, साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपाने तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख राजबहादुर राईलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया