काठमाडौं ।गायक सुमन राईको सांगीतिक फिल्म ‘ए देश – बिहानै घरको आगन’ सार्वजनिक भएको छ। देशले अहिले भोगिरहेको विषम परिस्थितिबीच पनि निराशाभन्दा आशा ठूलो हुन्छ, अँध्यारोपछाडि उज्यालो अवश्य आउँछ भन्ने विश्वास प्रस्तुत गरिएको गीतमा सुमन राइको स्वर तथा संगीत र शिव राइको शब्द रहेको छ।
‘ए देश’ केवल एउटा गीत वा भिडियो मात्र होइन, यो कठिन समयबीच पनि आशा, हिम्मत र सकारात्मक परिवर्तनको सम्भावनामा विश्वास गर्ने एउटा सानो प्रेरणात्मक प्रयास भएको यसका गायक संगीतकार तथा निर्माता सुमन राईले बताए ।
नितिन चन्द ठकुरीद्वारा निर्देशित ‘ए देश – बिहानै घरको आँगन’ मा सुमन राई ,बिमला लिम्बु , प्रचण्डबाबु राई ,लक्ष्मी लामसोङ्ग ,रेजिना कट्टेल ,मन बहादुर केत्रा, रोहित सिंह ठकुरी र बालकलाकार सिलिमा केत्राको दमदार अभिनय रहेको छ । म्युजिक फिल्मको कथावस्तु मुख्यतया देशप्रेम, बाध्यता, र देशप्रतिको दायित्वको वरिपरि घुमेको छ।
यसको मुख्य कथासार तलका मुख्य विषयवस्तुहरूमा आधारित छ:
युवाको बाध्यता र पलायन : देशमा सोचेजस्तो अवसर नपाएर वैदेशिक रोजगारमा जानुपर्ने नेपाली युवाहरूको पीडा र बाध्यतालाई यसले उजागर गर्छ।
माटो र जरासँगको सम्बन्ध : शरीर टाढा भए पनि मन, भावना र माया आफ्नै गाउँ-घर, भञ्ज्याङ र पाखापखेरामै अल्झिरहने भावनात्मक अवस्थालाई देखाइएको छ।
देशको अवस्था र खबरदारी : देशको वर्तमान राजनीतिक/सामाजिक अवस्थाप्रति नागरिकको मनमा उब्जिने चिन्ता, प्रश्न र माटोप्रतिको जिम्मेवारीलाई गीति संवादमार्फत प्रस्तुत गरिएको छ।
आशा र समर्पण: अन्त्यमा जस्तोसुकै परिस्थिति भए पनि आफ्नो देश, संस्कृति र पहिचानलाई बिर्सन नसकिने र देशप्रतिको निष्ठा नै सर्वोपरि हुन्छ भन्ने सन्देश यसले दिन्छ।
समग्रमा भन्नु पर्दा यो परदेशिएका नेपालीहरूको मुटुको धड्कन र मातृभूमिप्रतिको गहिरो प्रेमको एउटा मार्मिक प्रस्तुति हो।

तपाईको प्रतिक्रिया