काठमाडौं, असोज १२ गते । अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका–नेपाल सहयोगी समाजले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर (अनुमानित १ करोड, ४२ लाख नेपाली रुपियाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन न्यूयोर्क आउनुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँग भर्जिनियाबाट न्यूयोर्क पुगेर नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा आयोजित भेटघाट र अन्तरक्रिया कार्यकममा संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको चेक ग्रहण गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले संस्थालाई धन्यवाद दिँदै यसरी प्राप्त भएको रकमलाई सहि ढंगले सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले एएनएचएसका प्रतिनिधिहरुले दिएको सुझाव र विदेशमा बस्ने नेपालीहरुका समग्र समस्याहरुको समाधानका लागि नेपाल सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कामना पन्थीले एएनएचएसको संक्षिप्त परिचय तथा गरिरहेका कामको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै बोर्ड अफ ट्रष्टीजका अध्यक्ष केदारप्रसाद तिम्सिना, राहत संकलन समितिका संयोजक मधुसुदन पन्थी, संस्थाका पूर्व अध्यक्ष पदमराज रेग्मी र पूर्व अध्यक्ष कमला खरेलले प्रवासमा बसोबास गर्ने नेपालीहरुका समस्या तथा समाधानको लागि नेपाल सरकारले तत्काल गर्नसक्ने उपायको बारेमा सुझाव समेत दिनुभएको थियो ।
नेपालका लागि अमेरिकाका कार्यवाहक राजदुत शरदराज आरणको समन्वयमा कार्यक्रमको संयोजन न्यूयोर्कस्थित महावाणिज्यदुत दधिराम भण्डारीले गर्नुभएको थियो । उपवाणिज्यदुत बलराम पाण्डेले व्यवस्थापकीय सहयोग गर्नुभएको थियो ।
सहयोग रकम संकलनका लागि संस्थाका पूर्व संरक्षक एवं सल्लाहकार मधुसुदन पन्थीको संयोजकत्वमा, बोर्ड अफ ट्रष्टीजका सभापति केदारप्रसाद तिम्सिना, वर्तमान कार्यसमिति अध्यक्ष कामना पन्थी, पूर्व अध्यक्षहरु– सागर कँडेल, पदमराज रेग्मी, कमला खरेल, कमल भट्टराई, जानु ओझा, संस्थाका वित्त प्रमुख तिलक खरेल, वर्तमान कार्यसमितिका महासचिव विष्णु न्यौपाने र कोषाध्यक्ष धुर्व बराल सदस्य रहेको ११ सदस्यीय राहत संकलन समिति निर्माण गरिएको थियो ।





