बागलुङ । अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पछिल्लो दुई दिनमा तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा पहिरोले घर तथा गोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो ।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घरसमेत बगाएको छ ।

तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर विक र ६५ वर्षीया उदीसरा विकको मृत्यु भएको छ । सोही घटनामा हस्तवीरकी श्रीमती बेपत्ता भएकी छन्।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।

त्यस्तै, निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा निकायको टोली उद्धारमा परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया