वि.सं.२००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र आमा चन्द्र कुमारीको माइलो छोराको रुपमा मदनको जन्म भएको थियो । पा“च दाजुभाइ र पाँच दिदीबहिनीमध्ये उहाँ माहिला हुनुहुन्थ्यो । पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको ढुङ्गेसाघँुमा चन्द्रकुमारी भण्डारी र देवीप्रसाद भण्डारीको माइला छोराको रुपमा २००९ साल असार १४ गते शुक्रवारको दिन उहाँको जन्म भयो । उहाँको न्वारानको नाम मोतिप्रसाद भण्डारी थियो ।
बाल्यकालमा उहाँको शिक्षा घरमै चण्डीपाठबाट शुरु भयो । त्यसबला उहाँको परिवारलाई जान्नेहरु बालक मदन चण्डी कण्ठाग्र गरेकाले जिल्लाभर नै चर्चित भएको बताउँछन् । उहाँको बौद्धिकता र स्मरण शक्ति समयको अन्तरालसँगै झनै तिखारिएर गयो । उहाँले २०२४ सालमा बाल सुवोधिनी संस्कृत प्रधान पाठशालाबाट प्रवेशिका उत्र्तीण गर्नुभयो र लगत्तै उच्च शिक्षा हासिल गर्नका लागि भारतको मथुरा जानुभयो । दुई वर्षपछि देहरादुन हुँदै उहाँ बनारस पुग्नुभयो । उहाँले बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो ।
बनारस बस्दाकै समयमा वि.सं.२०२८ सालमा उहाँको भेट नेकपाका संस्थापक महासचिव पुष्पलालसँग भयो । यो भेट उहाँको राजनीतिक यात्रातर्फको पहिलो पाइला थियो । त्यसलगत्तै २०२९ सालमा मदन पुष्पलालकै जनवादी सा“स्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुभएपछिको उहाँको राजनीतिक यात्रा प्रारम्भ भएको हो ।उहाँमा त्यसबेला राजनीतिक भन्दा पनि साहित्यिक चेत बढी थियो । मदनका सहयोद्धा डा.मोदनाथ प्रश्रितका अनुसार कलेज पढ्ताका उहाँले एउटा काव्य लेख्नुभएको थियो । मानव महाकाव्य लेखेर मदन पुरस्कार पाइसक्नुभएका प्रश्रित त्यसबेलाका चर्चित लेखक त हुनुहुन्थ्यो नै, राजनीतिक रुपमा पुष्पलालसँग नजिक रही उहाँको सांस्कृतिक मोर्चामा आवद्ध हुनुहुन्थ्यो । मदनको प्रतिभा देखेर नै प्रश्रितले उहाँलाई सांस्कृतिक मोर्चामा आवद्ध हुन मनाउनुभयो । बनारसमा हुने कवि गोष्ठी, सांस्कृतिक गोष्ठीहरुमा मदन आउन थालेको अवस्था थियो । प्रश्रितका अनुसार उहाँ गीत मीठो गाउने, कविता राम्रो भन्ने र वक्तृत्व पनि राम्रो रहेको थियो । मदन आएसँगै उहाँ, मोदनाथ, जीवराज र बोधराज काफ्लेलगायत सम्मिलित सांस्कृतिक मोर्चा बन्यो ।
सांस्कृतिक मोर्चाको कार्य क्षेत्र नेपालको लुम्विनी अञ्चलका जिल्लाहरु थिए । त्यसैले मदन पनि नेपाल आएर सांस्कृतिक अभियानबाट कम्युनिष्ट विचारको प्रचारमै लाग्नुभयो । पछि २०३० देखि मदन पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिनुभयो । सक्रिय राजनीतिका लागि उहाँलाई केही पारिवारिक समस्या पनि थियो । जीवराज आश्रितसहितले मदनको मोरङ इटहरास्थित घरमै गएर उहाँका माता पितासँगसमेत आग्रह गरेर मदनलाई पूर्णकालिक राजनीतिमा ल्याउन सफल हुनुभयो ।
वि.सं.२०२३ सालमा भारतको बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभएका मदनले २ वटा विषयमा स्नातकोत्तर गर्नुभएको थियो । वि.सं.२०३३ सालमा पुष्पलालको पार्टीस“ग विद्रोह गरी निर्माण भएको मुक्तिमोर्चाका नेताहरु अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्रमा सम्मिलित भए । र, त्यसैवर्ष अर्थात् २०३५ साल पुस ११ गते माओ जयन्तिको दिन पारेर इटहरामै नेपाल कम्युनिष्ट पार्टी (माले) स्थापना भयो । पूर्णकालिक राजनीतिमा आइसक्नुभएका मदन त्यस पार्टीको संस्थापक केन्द्रीय सदस्य हुनुभयो । उहाँले २०४१ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मा पाउनुभयो । पार्टी र पार्टी नेता सबै भूमिगत हुनुहुन्थ्यो । तर नेताका फाँटहरु फरकफरक थिए । मदन भण्डारी र जीवराज आश्रित पार्टीलाई राजनीतिक रुपमा स्थापित गराउने र संगठन बढाउन क्रियाशील हुनुहुन्थ्यो । आश्रितको सक्रियता र भण्डारीको लोकप्रियता, प्रभाव, दृष्टिकोण र वैचारिक स्तरका कारण पार्टीलाई उचाईमा पु¥याउन सम्भव भएको नेता मदन हुनुहुन्थ्यो भन्ने कुरा त्यो बेलाका सबै नेताहरुले स्वीकार गर्दछन् ।
सादा जीवन उच्च विचार
सबै भन्छन्, हिजो आज यहाँ गाह्रो छ
ठूला–ठाला मजा गर्छन्, मसिना ज्यूनै गाह्रो छ
पिठो–आ“टो नपाएर मुटुमा वेदना बोकी
हिमाली सन्तती रुन्छन् सधैं खोजी ढिंडो रोटी
यो रचना जननेता मदन भण्डारीको हो । कम्युनिष्ट नेताले भड्काउ गरेर, लावालस्कर लगाएर सवारी साधन चलाउन ह“ुदैन, यो कम्युनिष्ट आचरणमा सुहाउँदैन, भन्ने मान्यता मदन भण्डारीको थियो ।
वि.सं.२०३९ साल साउन १४ गते पार्टीमै सक्रिय छँदा नै विद्यादेवी पाण्डेस“ग उनको जनवादी विवाह भएको थियो (विस्तृता भण्डारीसँगको अन्तर्वार्ता हेनुहोस्) । देशका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र जननेता मदन भण्डारीले एकआपसमा रुमाल साटासाट गरेर भूमिगत जनवादी विवाह गर्नुभएको थियो । माधवकुमार नेपालको सभापतित्व रहेको उक्त विवाहमा अशोक राईले उद्घोषण गर्नुभएको थियो । विद्याले मदनलाई माला लगाइदिनुभयो अनि मदनले विद्यालाई सिन्दुर । जम्मा १ सय ५० रुपैंयाँमा उहाँहरुको विवाह सम्पन्न भएको थियो ।
भूमिगत राजनीति र पञ्चायती शासनको चर्को दमनको बेला थियो त्यो । त्यसैले विवाहपछि पनि मदन र विद्या लामो समय सँगै बस्न पाउनु भएन । यता पार्टीभित्र मदनको भूमिका झन् बढ्न थालेको थियो । पोलिटव्युरो सदस्य भए पनि मदनका विचारहरु तत्कालीन पार्टी महासचिव झलनाथ खनाललगायतका शीर्षनेताले गम्भिरतापूर्वक लिंदै पार्टी निणर्यका रुपमा अगाडि बढाउन थालेका थिए । पञ्चायती निरङ्कुशता विरुद्ध लड्न र खुला प्रतिपस्र्धामक परिवेशको राजनीतिमा पार्टीलाई अघि बढाउन पार्टी सहमत भयो । र, बहुदलीय जनवादको बाटोमा अघि बढ्नका लागि पार्टीभित्र सामूहिक बहस शुरु भयो । यसैक्रममा २०४५ सालमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनले मदनलाई पार्टी महासचिव चुन्यो । अघिल्लो कार्यकालदेखि गृहकार्य भएका कामहरुले वैधानिकता त पाए नै, जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने काम सुरु भयो ।
२०४७ पुस २२ गते नै मनमोहन अधिकारी र साहना प्रधानको नेकपा (माक्र्सवादी) र नेकपा माले बीच एकीकरण भयो । एकीकृत पार्टीको नाम नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) अर्थात् नेकपा (एमाले) रह्यो । नेतृत्वमा अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी हुनुभयो । मदन २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । यो नै मदनले जीवनमा लाभको पद लिएको एकमात्र अवसर थियो ।
२०४९ माघमा नेकपा एमालेको पाँचौ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले जनताको बहुदलीय जनवादलाई आधिकारिक रुपमा पार्टीको नीति र कार्यदिशा बनायो । तर मदनलाई बहुदलीय जनवादको उच्चतम कार्यान्वयनको चरणसम्म पुग्न शायद नियतिले साथ दिएन । पार्टी कामको सिलसिलामा पोखराबाट चितवनतर्फ आउदै गर्दा दासढुंगामा उहाँ र नेता जीवराज आश्रित सवार जीप दुर्घटना भयो । (साभार)





