काठमाडौं । एसएस फाउण्डेशन काठमाडौंले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का बेला उद्धार कार्यमा प्रयोग हुने आवश्यक सामग्री प्रहरी वृत्त नयाँबानेश्वरलाई हस्तान्तरण गरेको छ।

काठमाडौंको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा फाउण्डेशनका संरक्षक तथा समाजसेवी शोभित उप्रेती र अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी अधिकारीलाई उद्धार सामग्री हस्तान्तरण गरेका हुन्।

फाउण्डेशनले उपलब्ध गराएका सामग्रीमा लाइफज्याकेट, सेफ्टी हेल्मेट, लाइफरिङ (रिङ ब्वाइ) लगायतका उद्धार उपकरण रहेका छन्। देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला काठमाडौं महानगरपालिका–१० स्थित प्रहरी वृत्तलाई उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको फाउण्डेशनले जनाएको छ।

उद्धार सामग्री उपलब्ध भएपछि विपद्का समयमा जोखिमपूर्ण अवस्थामा खटिने प्रहरीलाई उद्धार तथा राहत कार्य सञ्चालनमा थप सहजता हुने अपेक्षा गरिएको छ। फाउण्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षाकर्मीलाई आवश्यक सामग्री सहयोग गर्दै समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई समेत प्राथमिकता दिएको जनाएको छ।

एसएस फाउण्डेशनले यसअघि पनि सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ। विशेषगरी दोलखाको शैलुङ गाउँपालिकाका केही विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले शैक्षिक तथा प्रविधिसम्बन्धी सामग्री वितरण गरेको फाउण्डेशनले जनाएको छ।

तपाईको प्रतिक्रिया