झापा- झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ।
कंकाल भेटिएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भन्ने गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वार, वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्। उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईँको हुन सक्ने आशंका गरिएको छ।
ललितपुरको साविक मनिखेल (हाल महाङ्काल गाउँपालिका–१) स्थायी ठेगाना भएका दिलनाथ बजगाईँ २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनी हराएपछि खोजी गरिपाउँ भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईँले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।
प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा बजगाईँसँगै हिँडडुल गर्ने उनका साथी गुप्तबहादुर सिंहमाथि सोधपुछ गरेको थियो। सोधपुछका क्रममा सिंहले हत्या तथा शव गाडेको तथ्य स्वीकार गरेका थिए।
अभियुक्त सिंहले देखाएको स्थान—मेचीनगर–७ भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा सिंह आफैँले सञ्चालन गर्दै आएको बंगुर फार्मभित्र प्रहरीले उत्खनन् गरेको हो। स्थानीयवासी र जनप्रतिनिधिहरूको रोहबरमा जेसीबी प्रयोग गरी खन्दा मानव कंकाल फेला परेको थियो।
बरामद कंकाललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। उक्त कंकाल दिलनाथ बजगाईँकै हो वा होइन भनी यकिन गर्न अस्पतालमा शव परीक्षणपश्चात् थप परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा नमुना पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





