तनहुँ। व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ।

नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको छ भने ६ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरेको छ। सडक पूर्वाधारसँगै नगरपालिकाले सहरी व्यवस्थापन र सार्वजनिक संरचना निर्माणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए।

आर्थिक वर्ष २०८२/८३ मा नगर क्षेत्रमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरिएको छ। साथै कृषि उत्पादनमा नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

नगरपालिकाले सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ पनि काम अघि बढाएको छ। गत आर्थिक वर्षमा तीन वटा पार्क निर्माण गरिएको छ भने १५ वटा नयाँ विद्यालय भवन निर्माण भएका छन्। स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिका लागि आवश्यक छ वटा सामुदायिक भवन निर्माण भएका छन्।

व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारको विकासमा उल्लेख्य विस्तार भएको छ। हालसम्म एक सय ५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ।

नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म सात सय २५ दशमलव ६७ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ। हालसम्म व्यास नगरपालिकाभित्र २२ वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।

त्यसैगरी, हालसम्म नगर क्षेत्रमा एक सय १८ दशमलव ९५ किलोमिटर ढल निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए। बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन हालसम्म पाँच दशमलव १७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ। कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि पनि नगरपालिकाले लगानी गर्दै आएको छ।

हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा मात्रै थप ९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो। व्यास नगरपालिकाले खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत आफ्नो पूर्वाधार योजनामा समेटेको छ। हालसम्म नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भएका छन्।

तपाईको प्रतिक्रिया