काठमाडौँ। वैदेशिक रोजगार विभागले इजाजत पत्र प्राप्त संस्था अर्थात् वैदेशिक रोजगारीमा पठाउने संस्थालाई हरूलाई वैदेशिक रोजगारीमा पठाइएका नेपाली श्रमिकहरूको अवस्थासम्बन्धी प्रगति विवरण बुझाउन निर्देशन दिएको जनाएको छ। विभागका अनुसार असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा अनिवार्य रूपमा सो विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

विभागको पूर्व सूचना तथा निर्णय बमोजिम प्रत्येक तीन तीन महिनामा आफूले पठाएका श्रमिकहरूको अवस्थाबारे प्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, हित र सुरक्षालाई ध्यानमा राखेर सो कदम चालिएको विभागले जानकारी दिएको छ।

जसका लागि इजाजत पत्र प्राप्त संस्थाले आफू मार्फत उडान गरेका श्रमिकहरूको नियमित विवरण समेत संकलन गरी पेस गर्नुपर्नेछ विभागले औंलाएको छ। श्रमिकहरू सुरक्षित रूपमा गन्तव्य मुलुक पुगे वा नपुगेको विषयमा उडान भएको १५ दिनभित्र अनिवार्य रूपमा जानकारी लिनुपर्ने व्यवस्था कायम गरिएको छ।

सम्झौता बमोजिमको काम, तोकिएको तलब र अन्य सेवा सुविधा श्रमिकले पाए वा नपाएको विषयमा प्रत्यक्ष सम्पर्क गरी विवरण तयार गर्नुपर्ने प्रावधान रहेको छ। जसमा संकलित विवरण श्रमिकको उडान भएको २० दिनभित्र विभागमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

त्यस्तै, सो निर्देशनको पालना नगर्ने वा श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजत पत्र प्राप्त म्यानपावर व्यवसायी माथि संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने भन्दै विभागले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया