नागोया (जापान), असोज २ गते । २० औँ एसियाली खेलकुदमा नेपालको पुरुष सफ्ट टेनिसले शुक्रबार निराशाजनक प्रदर्शन गरेको छ ।
नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टरमा नेपाल पुरुष टिम इभेन्टमा दक्षिण कोरियासँग ३–० ले हारेको हो । पुरुष डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडीलाई कोरियाली जोडी ह्युङवोन लि र जाइक्यु पार्कले सजिलै ५–० ले हरायो । ११ मिनेट मात्र चलेको खेलमा नेपाली जोडी ४–०, ४–१, ४–२, ६–४ र ४–१ ले पराजित भयो ।
त्यसपछि पुरुष एकलमा दक्षिण कोरियाका जिनउङ किमले नेपालका ब्रिजेश पाण्डेलाई सोझो सेटमा ४–२, ४–०, ४–१ र ४–२ ले हराउनुभयो । लगातार दुई खेल हारेपछि अर्थहिन तेस्रो खेलमा दक्षिण कोरियाले नेपालबाट बाइ पाएको थियो ।
सफ्ट टेनिस २० औँ एसियाडको उद्घाटन समारोहअघि नै सुरु गरिएको हो । आइची नागोया एसियाडको उद्घाटन शनिबार पालोमा मिजुहो रङगशालामा हुँदैछ । नेपालले २१ खेलमा भाग लिएको छ । नेपालबाट १३५ खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।





