काठमाडौँ । चीनसँगको व्यापारमा प्रयोग भइरहेका दुई प्रमुख उत्तरी नाका रसुवागढी र तातोपानी अवरुद्ध भएपछि आयातको चाप मुस्ताङको कोरला नाकातर्फ सरेको छ । वैकल्पिक मार्गबाट सामान ल्याउनुपर्दा प्रतिकन्टेनर ढुवानी खर्च साढे ७ लाख रुपैयाँसम्म पुगेको छ भने कोरलाबाट सवारीसाधन र दशैँलक्षित वस्तुको आयात तीव्र रूपमा बढेको छ ।

रसुवागढी नाका बाढीले क्षतविक्षत बनेको र तातोपानीबाट पनि चीनले सामान पठाउन बन्द गरेपछि पछिल्ला सातामा कोरला चीनसँगको स्थल व्यापारको मुख्य वैकल्पिक मार्ग बनेको हो ।

कोरला भन्सार कार्यालयका अनुसार भदौ १० गतेसम्म उक्त नाकाबाट १६३ विद्युतीय सवारीसाधन जाँचपास भएकोमा अहिले यो संख्या १ हजार २३१ पुगेको छ । राजस्व संकलन पनि सोही अवधिको ५२ करोड रुपैयाँबाट बढेर ३ अर्ब रुपैयाँ पुगेको छ ।

कार्यालय प्रमुख विदुर चुडालका अनुसार पछिल्लो समय नयाँ सवारीसाधनसँगै कपडा, जुत्ता, फलफूल तथा दशैँलक्षित अन्य वस्तुको आयात तीव्र भएको छ ।

‘अहिले अवस्था चकाचक छ,’ उनले भने, ‘खासगरी गाडी धेरै आइरहेका छन् । चीनबाट आउने सवारीसाधनसँगै दशैँका सामानको आयात पनि बढेको छ ।’

चुडालका अनुसार मंगलवार एकै दिन ६१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्ला ४/५ दिनयता दैनिक औसत ५० देखि ६० कन्टेनर जाँचपास भइरहेका छन् ।

विद्युतीय सवारीसाधनको आयात भने दिनअनुसार फरक हुने गरेको छ । ‘कुनै दिन २०० ओटासम्म आएका छन्,’ चुडालले भने, ‘गाडी ल्याउने क्रम अहिले अत्यन्तै बढेको छ ।’

तीमध्ये कति सवारी रसुवागढी वा तातोपानीबाट कोरलातर्फ मोडिएका हुन् र कति कोरलाको नियमित व्यापारअन्तर्गत आएका हुन् भनेर छुट्ट्याउन बाँकी रहेको उनले बताए ।

ढुवानी खर्च १५ गुणासम्म बढेको दावी

रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि व्यापारीको ढुवानी खर्च अत्यधिक बढेको छ । व्यवसायीका अनुसार यसको असर आयात लागतमा देखिन थालेको छ र यही अवस्था कायम रहे दशैँ तथा तिहारमा उपभोक्ता समेत प्रभावित हुन सक्छन् ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका उपाध्यक्ष प्रह्लाद थापाका अनुसार रसुवागढीदेखि काठमाडौँसम्म एक कन्टेनर सामान ल्याउँदा करीब ५० हजार रुपैयाँ खर्च हुन्थ्यो । अहिले कोरला हुँदै सामान काठमाडौँ ल्याउँदा प्रतिकन्टेनर साढे ७ लाख रुपैयाँसम्म खर्च भइरहेको छ ।

‘केरुङबाट कोरलासम्म कन्टेनर लैजान चालकलाई एक लाख रुपैयाँ र कन्टेनरको भाडा २ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘काठमाडौँबाट कोरला पुगेर सामान ल्याउन अर्को ४ लाख रुपैयाँ लाग्छ । यसरी हेर्दा रसुवागढी वा तातोपानीबाट सामान ल्याउँदाको तुलनामा अहिले ढुवानी खर्च करीब १५ गुणा बढेको छ ।’

ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष असर व्यापारी र उपभोक्ता दुवैलाई पर्ने थापाले बताए । उनका अनुसार भोटेकोशीको बाढीले करीब ३५० कन्टेनर बगाउनुका साथै जनशक्तिसमेत प्रभावित भएकाले अहिले कन्टेनर र चालक पाउन कठिन भएको छ ।

कच्ची सडक, मुस्ताङमा खाना र बसोबासको उच्च खर्च, कामदार अभाव, एउटा कन्टेनरले कोरलाबाट काठमाडौँसम्म महीनामा तीनपटक मात्रै सामान ओसार्न सक्ने अवस्था र अत्यधिक चिसोका कारण सवारीसाधनको इन्जिनमा समस्या आउने जस्ता कारणले पनि ढुवानी लागत बढाएको उनको भनाइ छ ।

‘यही अवस्था रह्यो भने दशैँ र तिहारमा उपभोक्ता थप मर्कामा पर्नेछन्,’ उनले भने ।

कोरलामा कामको चाप बढ्यो

आयात बढेसँगै कोरला भन्सार कार्यालयमा कामको चाप पनि तीव्र भएको छ । कार्यालयमा हाल करीब १६ देखि १७ कर्मचारी कार्यरत छन् ।

चुडालका अनुसार उपलब्ध कर्मचारीले अतिरिक्त समय काम गरेर बढ्दो चाप व्यवस्थापन गरिरहेका छन् ।

‘तत्काल थप कर्मचारी मागिएको छैन । कार्यालयको भौतिक पूर्वाधारले पनि थप जनशक्ति व्यवस्थापन गर्न कठिन छ,’ उनले भने, ‘अहिलेसम्म उपलब्ध जनशक्तिबाटै काम भइरहेको छ । यही किसिमको चाप कायम रह्यो भने पछि अर्थ मन्त्रालयसँग थप कर्मचारी माग्छौं ।’

कार्यालयमा कम्प्युटर र फर्निचरलगायत आवश्यक सामग्री उपलब्ध भए पनि एक्सरे मेसिन छैन । त्यसैले अहिले सामानको जाँचपास म्यानुअल रूपमा भइरहेको छ ।

चुडालका अनुसार एक्सरे मेसिन उपलब्ध गराउन माग गरिसकिएको छ । अर्थ मन्त्रालय र भन्सार विभागबाट त्यसमा सकारात्मक प्रतिक्रिया आएको र आवश्यक समन्वय भइरहेको उनले बताए ।

चोभारमा जाँचपास गर्न सकिने

कोरला हुँदै नेपाल भित्रिने सामान आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ल्याई जाँचपास गर्न सकिने व्यवस्था रहेको भन्सार विभागले जनाएको छ ।

महानिर्देशक भुसालका अनुसार व्यापारीले औपचारिक माग गरे सामान चोभारमा ट्रान्जिट गराएर जाँचपास गर्न सकिन्छ । तर अहिलेसम्म व्यापारीबाट त्यस्तो माग आएको छैन ।

‘व्यापारीबाट औपचारिक माग आए त्यसअनुसार प्रक्रिया अघि बढाउन सकिन्छ,’ उनले भने । यस व्यवस्थाले कोरला हुँदै आएका सबै कन्टेनरको पूर्ण जाँचपास मुस्ताङमै गर्नुपर्ने दबाब घटाउन सक्छ ।

रसुवागढीको क्षति यकिन हुन सकेन

रसुवागढी नाका भदौ १० गतेको भीषण बाढीपछि पूर्ण रूपमा प्रभावित छ । भोटेकोशी बाढीले भन्सार, अध्यागमन, प्रहरीलगायत सरकारी संरचनामा ठूलो क्षति पुर्याएको छ ।

भुसालका अनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारी अझै हराइरहेका छन् । कार्यालय तथा सडक संरचना नै क्षतिग्रस्त भएकाले अहिलेसम्म घटनास्थल पुगेर क्षतिको विस्तृत मूल्यांकन गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘बाढीले भन्सार क्षेत्रमा पुर्याएको कुल क्षतिको यकिन विवरण निकाल्नसमेत कठिन भइरहेको छ,’ उनले भने ।

बाढीअघि नेपालले चीनसँग रसुवागढी, तातोपानी र कोरला नाकाबाट व्यापार गर्दै आएको थियो । रसुवागढीको पूर्वाधार बाढीले ध्वस्त पार्नु र तातोपानी नाका बन्द रहनुले अहिले चीनसँगको स्थल व्यापारको ठूलो चाप कोरलामाथि परेको छ ।

तातोपानी खुलाउन चीनलाई पत्र

चीनसँगको व्यापारमा बढ्दो दबाबबीच सरकारले तातोपानी नाका पुनः सञ्चालनका लागि चीन सरकारलाई पत्राचार गरेको छ ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार चिनियाँ पक्षले तातोपानीबाट तत्काल सामान नपठाइने जानकारी दिएपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत नाका खोल्न औपचारिक अनुरोध गरेको हो ।

‘हामीले परराष्ट्र मन्त्रालयमार्फत नाका खुलाएर सहयोग गर्न चीनलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘छिट्टै सकारात्मक प्रतिक्रिया आउने आशा गरेका छौं ।’

उनका अनुसार पटकपटकको पहिरोबाट प्रभावित तातोपानी नाकाबाट चीनले भदौको तेस्रो सातादेखि सामान पठाएको छैन ।

चीनतर्फ निरन्तरको वर्षाले सडकमा क्षति पुर्याएको र नेपालतर्फ पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले नाका प्रभावित हुँदै आएको भुसालले बताए ।

तपाईको प्रतिक्रिया