सप्तरी / सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पैसा तिर्न नसकेको भन्दै प्रसूति व्यथा लागेकी महिलालाई भर्ना नगरेपछि सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको घटनामा ६ कर्मचारीलाई कामबाट हटाइएको छ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतरलाई कामकाजबाट हटाएको जनाएको हो। छानबिन समितिले प्रतिवेदन नदिएसम्म उनीहरूलाई जिम्मेवारीबाट हटाइएको अस्पतालले जनाएको छ।
गत मंगलबार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई प्रसूति व्यथा लागेपछि अस्पताल लगिएको थियो। तर, अस्पतालले भर्ना नलिएपछि उनले सडक पेटीमै बच्चा जन्माएकी थिइन्। उक्त घटनाको भिडियो तथा तस्बिर सार्वजनिक भएपछि अस्पतालको चर्को आलोचना भएको थियो।
घटनापछि सरकारले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ। अस्पतालले पनि घटनामा संलग्न कर्मचारीमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।





