सन्तोष दहित
दाङ, भदौ २० गते ।
शुक्रबारदेखि मनाउन सुरु गरिएको अष्टिम्की पर्व शनिबार बिहान पूजापाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन (अष्टिम्की अस्रैना) गरी थारू समुदायले बिदाइ गरेका छन् ।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन दिनभर व्रत बसेर मटावाँको घरमा श्रीकृष्णको जीवनीसहितका लोकचित्र तथा भित्तेचित्र बनाउने, सोही चित्रमा टीका लगाएर पूजापाठ गर्ने र अष्टिम्कीका गीत गाउँदै थारू समुदायले यो पर्व मनाउँदै आएको छ ।

अष्टिम्कीका दिन थारू महिलाहरू परम्परागत मौलिक पहिरनमा सजिएर साँझपख थालीमा चामल, घुँस्राको फूल, ज्यामिरे र दियो लिएर मटावाँको घरमा भेला हुने र सामूहिक रूपमा अष्टिम्की मनाउने गरेको घोराही उपमहानगरपालिका–१७ गुलरियाकी शर्मिला चौधरीले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष पनि मटावाँको घरको बैठक कोठाको उत्तरतर्फको भित्तामा बनाइएको अष्टिम्की चित्रमा पूजा गर्दै महिलाहरूले सामूहिक रूपमा अष्टिम्की गीत गाएर पर्व मनाएका थिए ।

‘अष्टिम्कीको पहिलो दिन बेलुकी मटावाँको घरमा बनाइएको अष्टिम्की चित्रमा टीका लगाई पूजापाठ गरेर अष्टिम्की गीत गाउँदै पर्व मनायौँ,’ उहाँले भन्नुभयो, ‘पूजापाठ सकेर घरमा आई फलफूल, दही खाएर पुनः मटावाँको घरमा गई रातभर अष्टिम्की गीत गाउँदै मनायौँ ।’

दोस्रो दिन बिहान पुनः घरबाट सालको टपरी लिएर मटावाँको घरमा गई पहिलो दिनकै जस्तै पूजापाठ गर्ने र पूजामा प्रयोग गरिएका सामग्री नजिकैको खोलामा लगेर जलमा विसर्जन गरी अष्टिम्की पर्वको बिदाइ गर्ने चलन रहेको उहाँले बताउनुभयो ।
‘आज दोस्रो दिन बिहान मटावाँको घरमा गई पूजापाठ गरेर पूजाका सामग्री नजिकैको खोलामा लगेर जलमा विसर्जन गरी अष्टिम्कीलाई बिदाइ गर्‍यौँ,’ उहाँले भन्नुभयो, ‘अब घरमा गएर तीनदेखि पाँच थरीका तरकारीसहित विभिन्न मिठा परिकार बनाएर खानेछौँ ।’

खाना खानुअघि आफ्ना दाजुभाइका नाममा आफूले खाने परिकारको आधा भाग छुट्याउने चलन रहेको उहाँले बताउनुभयो । ‘छुट्याएको खाना तथा परिकार दाजुभाइलाई अग्रासन (कोसेली) का रूपमा दिने गर्छौँ,’ उहाँले भन्नुभयो ।

यो प्रचलन परम्परादेखि चल्दै आएको उहाँले बताउनुभयो । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास थारू समुदायमा रहेको उहाँको भनाइ छ ।

जन्माष्टमीलाई थारू समुदायले ‘अष्टिम्की’ भन्ने गर्छन् । परम्परादेखि मनाउँदै आएको अष्टिम्की थारू समुदायका महिलाको विशेष पर्वका रूपमा मनाइन्छ ।

मटावाँको घरको बह्री (बैठक कोठा) को उत्तरतर्फको भित्तामा लिपपोत गरी सेतो चुन लगाएर त्यसमा कान्हासहित विभिन्न लोकचित्र तथा भित्तेचित्र बनाउने गरिन्छ । सोही चित्रमा पूजापाठ सुरु भएसँगै सामूहिक रूपमा अष्टिम्की गीत गाउने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया