काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजे सम्म १ हजार ३४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।जसमध्ये रसुवामा १६० जना, नुवाकोटमा १९२ जना, धादिङमा ६७ जना, चितवनमा ३६० जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २३० जना गरी १ हजार ३४२ जनाको शव फेला परेको हो ।फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ९७२ गरी कुल २ हजार २३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६५५ जना व्यक्तिहरूलाई राखिएको छ ।प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढी अपडेट: १ हजार ३४२ जनाको शव फेला





