साहारा लिम्बू
फुङलिङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपका भाग्यमानी दर्शक बन्नुभएको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बूका लिम्बूले गोल्डकपको टिकट काटेर फुटबल प्रतियोगिता हेरेपछि भाग्यमानी दर्शकका रूपमा टीभीएस कम्पनीको नयाँ स्कुटर प्राप्त गर्नुभएको हो ।

लाखेजात्राको अवसरमा सञ्चालन गरिएको गोल्डकपमा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये एक जनालाई टीभीएस कम्पनीको नयाँ स्कुटर उपहार दिने व्यवस्था गरिएको थियो ।

सोहीअनुसार लिम्बू भाग्यमानी दर्शकमा पर्न सफल हुनुभएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । भदौ १२ गतेदेखि सञ्चालन भएको गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेशले उपाधि जितेको हो ।

जितसँगै सलहेशले नगद सात लाख दुई हजार ८३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता फिदिम स्पोर्टिङ क्लबले तीन लाख ५२ हजार ८३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया