काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रु १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि रु एक–एक करोड तथा धादिङका लागि रु ५० लाख दिने निर्णय सरकारले गरेको थियो ।

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते रु छ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु दुई करोड, कालिका गाउँपालिकाका लागि रु ६० लाख र आमाछोदिङ्मो गाउँपालिकाका लागि रु ४० लाख निकासा गरिएको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि रु तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि रु एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि रु ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि रु एक करोड निकासा गरिएको छ ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि रु ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि रु ४० लाख, गजुरी गाउँपालिकाका लागि रु ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि रु ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

साथै, गोरखाको गण्डकी गाउँपालिकाका लागि रु ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि रु ४० लाख र आँबुखैरेनी गाउँपालिकाका लागि रु ४० लाख निकासा भइसकेको प्राधिकरणले जनाएको छ ।

यसैबिच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रु सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रु एक अर्ब निकासा दिएपछि अब सो कोषमा रु छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

तपाईको प्रतिक्रिया