काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
थापा विगत २२ वर्षदेखि काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत थिए। उनले नर्वेबाट जलविद्युत् विषयमा विद्यावारिधि गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । उनले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढाँचाको न्यासी प्रणालीमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।





