काठमाडौं। गत बुधबार आएको भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुर्नस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार १ करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
अर्घाखाँची सिमेन्टका सञ्चालकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। उद्योगले बाढी पीडितको उद्धार, राहत, उपचार तथा पुर्नस्थापनामा सघाउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम योगदान गर्ने निर्णय गरेको जनाएको छ।
‘रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति अर्घाखाँची सिमेन्ट लिमिटेड गहिरो ऐक्यबद्धता व्यक्त गर्दछ। बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ कम्पनीले भनेको छ।





