सचिन पोख्रेल

विराटनगर, भदौ १२ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक बाढीका कारण कोशी प्रदेशका १३८ जना सर्वसाधारण अझै सम्पर्कविहीन रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सो क्षेत्रमा गएका सर्वसाधारणमध्ये हालसम्म १५ जना सम्पर्कमा आएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीका कारण सबैभन्दा बढी प्रभावितमध्ये सोलुखुम्बुका सर्वसाधारण रहेका छन् । सो कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोलुखुम्बुका ४१ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने ३९ जनाको अवस्था अझै अज्ञात छ ।

त्यसैगरी ओखलढुंगाका २२ जनामध्ये २० जना, उदयपुरका १८ जनामध्ये १५ जना र सुनसरीका १७ जनामध्ये १५ जना अझै सम्पर्कविहीन छन् । मोरङका १६ जनाको अवस्था पनि अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाका १२ जनामध्ये १० जना, इलामका नौ जनामध्ये सात जना, खोटाङका आठै जना, ताप्लेजुङका पाँच जनामध्ये दुई जना, संखुवासभाका तीन जना, धनकुटाका दुई जना र भोजपुरका एक जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

पाँचथर र तेह्रथुम जिल्लाबाट भने कुनै पनि नागरिक बाढीका कारण बेपत्ता वा प्रभावित भएको जानकारी प्राप्त नभएको प्रहरीको विवरणमा उल्लेख छ ।

यसैबीच, पछिल्लो विवरणअनुसार झापाका थप दुई, इलामका थप एक र ताप्लेजुङका थप तीन जना गरी केही नागरिक सम्पर्कमा आएका छन् ।

सम्पर्कविहीन रहेका नागरिकको अवस्था पत्ता लगाउन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायले खोजी कार्यलाई निरन्तरता दिएका छन् ।

प्रहरीका अनुसार भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको संख्या तथा उनीहरूको अवस्थाबारे थप विवरण संकलन गर्ने कामसमेत भइरहेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या र अवस्थाबारे थप तथ्यांक आउन सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया