- भोजराज घिमिरे

विराटनगर । विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ ।
आइतबार विराटनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि रक्षा गरेको हो । उपाधिसँगै एभरेष्टले नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय भएको छ भने उसले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । सुन्दरहरैंचाकै बालसदन एकेडेमी र रंगेलीको मिनिल्याण्ड स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
मोरङका १७ स्थानीय तहबाट छनौट भएका ४८ विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सहभागी विद्यालयलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । त्यसबाट उत्कृष्ट १२ विद्यार्थी फाइनलका लागि छनौट भएका थिए ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले गरेकी थिइन् । कार्यक्रममा बोल्दै मन्त्री तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताइन् । शिक्षा क्षेत्रको नीतिगत तथा व्यावहारिक विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउन तथा आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।
विजेता विद्यार्थीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, कोशी प्रदेश कोषाध्यक्ष प्रेमाल सिंह सुवाल, शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाललगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताका निर्णायक स्पेलिङ मास्टरका रूपमा बासु दाहाल, अनुजा अग्रवाल र दर्पणा शर्मा रहेका थिए भने कार्यक्रमको संयोजन रमेश मिश्रले गरेका थिए ।

तपाईको प्रतिक्रिया