मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको मनमोहन स्मृति पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट स्नातक तहको बी टेक इन्जिनियरिङ अध्ययन गर्न पाउने भएका छन्। मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीका लागि विश्वविद्यालयले बीटेक इन्जिनियरिङको पाठ्यक्रम तयार गरी अध्ययन सञ्चालन गर्ने तयारी गरेको हो।
पोलिटेक्निकमा तीनवर्षे डिप्लोमा अध्ययन गरिरहेका ६५औँ समूहका प्रथम वर्षका विद्यार्थीलाई शुक्रबार अभिमुखीकरण गर्दै विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले डिप्लोमा उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने बताए। उपकुलपति पोखरेलका अनुसार आंगिक शिक्षालयमा विभिन्न विषयमा तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले बीटेक इन्जिनियरिङको पाठ्यक्रम तयार गरिसकेको छ। चालु शैक्षिक सत्रदेखि विभिन्न विषयमा डिप्लोमा इन इन्जिनियरिङमा भर्ना भएका नयाँ विद्यार्थीलाई समेत सोही विषयबारे अभिमुखीकरण गरिएको उनले बताए।
‘मनमोहन पोलिटेक्निकबाट उत्तीर्ण विद्यार्थीले थप उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने छैन। नेपालमै पहिलोपटक बीटेकको पाठ्यक्रम तयार गरेर शैक्षिक सत्र सञ्चालन गराउँदैछौँ,’ उपकुलपति पोखरेलले भने। मनमोहन प्राविधिक विश्वविद्यालय प्राविधिक शिक्षा तथा तालिममा केन्द्रित विश्वविद्यालय भएकाले आंगिक शिक्षालयमार्फत निरन्तर आत्मनिर्भर जनशक्ति उत्पादनमा जोड दिइरहेको उपकुलपति पोखरेलले जानकारी दिए।
पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीले डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको गुणस्तर अभिवृद्धिका लागि शिक्षालयले आवश्यक सबै व्यवस्था गर्दै आएको बताए। उनका अनुसार मनमोहन पोलिटेक्निकबाट अध्ययन पूरा गरेका विद्यार्थी देशमै मात्र नभई विदेशमा समेत रोजगारीका लागि सक्षम साबित भइरहेका छन्।
‘हाम्रा विद्यार्थी निजी तथा सरकारी क्षेत्रमा देशभर सफल भएका छन्। यो हाम्रो गर्वको विषय हो,’ प्राचार्य अधिकारीले भने। मनमोहन स्मृति पोलिटेक्निकले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, आईटी र मेकानिकललगायत विषयमा तीनवर्षे डिप्लोमा इन इन्जिनियरिङ सञ्चालन गर्दै आएको छ। पोलिटेक्निक चारपटकसम्म देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा पुरस्कृत भइसकेको जनाइएको छ।







