उदयपुर । डिभिजन वन कार्यालय गाईघाट उदयपुरमा कार्यरत एक वन अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भूवन पौडेललाई नगद १६ हजार २५० रुपैयाँसहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा अख्तियारको टोलीले बिहीबार दिउँसो पौडेललाई एक सामुदायिक वन उपभोक्ता समूहबाट लिएको रकमसहित पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएर रकमसहित उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार डिभिजन वन कार्यालयमा कार्यरत पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको जानकारी दिए । ‘अख्तियारको टोलीले दिएको जानकारीअनुसार उहाँ नगदसहित पक्राउ पर्नुभएको हो, उनले भने, ‘अब अन्य कर्मचारीमाथि अनुसन्धान हुन्छ होला ।’







