विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले सामाजिक सञ्जालमा पुराना फोटो तथा भिडियो पोस्ट गरी भ्रम, अफवाह र उत्तेजना फैलाउने गतिविधि नगर्न पत्रकार तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
पछिल्लो समय सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई लक्षित गर्दै विगतका आन्दोलनसँग सम्बन्धित पुराना फोटो र भिडियो सामाजिक सञ्जालमा पुनः प्रसारण गरी गलत सूचना फैलाउने क्रम देखिएको भन्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो।
प्रतिष्ठानका प्रेस रजिस्ट्रार लिलाराज भट्टराईका अनुसार सामाजिक सद्भाव र शान्ति खलबल्याउने उद्देश्यले पुराना सामग्रीलाई नयाँ घटनासँग जोडेर प्रचार–प्रसार गर्नु गैरजिम्मेवारपूर्ण कार्य हा े। उहाँले आधिकारिक स्रोतबाट पुष्टि भएका सत्य र तथ्यमा आधारित जानकारी मात्र सामाजिक सञ्जालमा प्रकाशन तथा साझेदारी गर्न सबैमा अनुरोध गर्नुभयो।
प्रतिष्ठानले सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न सामाजिक सञ्जाल प्रयोगकर्ताले जिम्मेवारीपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिएको छ। साथै, अपुष्ट सूचना वा भ्रामक सामग्रीको प्रचार–प्रसार नगरी तथ्यपरक सूचनालाई मात्र प्राथमिकता दिन सम्पुर्ण सञ्चारकर्मीलाई आग्रह गरेको छ ।







