विष्णुप्रसाद पोखरेल
दमक, साउन ४ गते ।
झापा जिल्लामा पछिल्लो एक वर्षको अवधिमा हराएका ६६७ जनामध्ये ६५३ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार हराएका व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ।

प्रहरीको वार्षिक तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा ६६७ जना मानिस हराएको भन्दै प्रहरीमा हुलिया दर्ता भएको थियो। प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकारवाला निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो।

घरेलु तथा महिला हिंसाका सबै उजुरी फर्छ्यौट
यसैगरी, झापामा गत वर्ष दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी फर्छ्यौट भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वर्ष जिल्लाभर घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी परेका थिए। उजुरी प्राप्त हुनासाथ घटनाको प्रकृति हेरी प्रहरीले आवश्यक प्रक्रिया अघि बढाउँदै समस्या समाधान गर्दै आएको जनाएको छ।

प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सक्रियतामा सबै १२३ वटा उजुरी फर्छ्यौट गरिएको प्रवक्ता अवाले बताउनुभयो।

उहाँका अनुसार उजुरी परेका घटनामा कानुनी कारबाही, सचेतनामूलक परामर्श ९काउन्सिलिङ० तथा दुवै पक्षबीच संवादमार्फत मेलमिलाप गराई उजुरी समाधान गरिएको हो।

तपाईको प्रतिक्रिया