सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख बराबरका एक स्काभेटर र एक रोलर अनुदानस्वरूप प्राप्त गरेको छ।
सोमबार तातोपानीस्थित नेपाल–चीन सीमा क्षेत्रमा आयोजित हस्तान्तरण कार्यक्रममा चीनका सहायक गभर्नर ल्थष् न्गष् ले थुलुङ दुधकोशी गाउँपालिकासँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा चीनको वैदेशिक मामिला कार्यालयका उपनिर्देशक त्ग म्यच ले नेपाल–चीनबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास साझेदारीलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राई ले दुई वर्षअघि डिङ्ग्री राज्यसमक्ष राखिएको प्रस्तावका आधारमा उक्त उपकरण प्राप्त भएको जानकारी दिनुभयो। लामो समयदेखिको समन्वय र पहलको परिणामस्वरूप गाउँपालिकाले महत्वपूर्ण पूर्वाधार उपकरण प्राप्त गरेको उल्लेख गर्दै उहाँले सहयोगका लागि डिङ्ग्री राज्यप्रति आभार व्यक्त गर्नुभयो।
हाल सार्वजनिक पदमा नरहे पनि आफू अध्यक्ष रहँदादेखि देखेको एउटा महत्वपूर्ण सपना पूरा भएको भन्दै राईले यसबाट गाउँपालिकाको विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यवाहक अध्यक्ष सविता राई ले संस्थापक अध्यक्ष राईको दूरदृष्टि, निरन्तर पहल र समन्वयकै कारण करोडौँ रुपैयाँ बराबरका उपकरण प्राप्त भएको बताउँदै सहयोग गर्ने चिनियाँ पक्ष तथा पहलकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभयो।
गाउँपालिकाले प्राप्त स्काभेटर र रोलरलाई सडक पूर्वाधार विकास, निर्माण कार्य तथा विपद् व्यवस्थापनका गतिविधिमा प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ।







