विराटनगर / विराटनगर महानगरपालिका–१४ स्थित जतुवाबाट कटुवा पेस्तोल, गोली र गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको टोलीले आज बिहान ३१ वर्षीय सुभासचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो ।
जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठामा गरिएको खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल, उक्त पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली तथा १४० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म हेडक्वारट रानीका डि एस पि तिलक खड्काले जानकारी दिनुभयो । खानतलासीका क्रममा यादवको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध हतियार र लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको सुरक्षा निकायको भनाइ छ।







