सञ्जय मिश्रा
रौतहट, १८ असार।
रौतहट प्रहरीले सदरमुकाम गौरको शान्ति–सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने प्रयासस्वरूप ड्रोनमार्फत निगरानी अभियान सुरु गरेको छ।
पछिल्लो समय नगर क्षेत्रमा बढ्दै गएका उच्छृङ्खल तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले बुधबारदेखि मोबाइल गस्तीसँगै ड्रोन परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार ड्रोनमार्फत लागूऔषधको सेवन तथा कारोबार, तस्करी, आपराधिक गतिविधि र अन्य शंकास्पद गतिविधिमाथि निरन्तर निगरानी राखिनेछ।
हाल गौरको महादेवपट्टी, झोलुङ्गे पुल क्षेत्रलगायत संवेदनशील स्थानमा एकवटा ड्रोन परिचालन गरिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार आवश्यकता र स्रोत व्यवस्थापनअनुसार आगामी दिनमा थप ड्रोन थप्दै निगरानीको दायरा गौर नगरपालिकाबाहिरका अन्य संवेदनशील क्षेत्रमा समेत विस्तार गरिने योजना छ।
यो अभियान जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालको पहलमा सुरु गरिएको हो। उनका अनुसार प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई प्रभावकारी बनाउनुका साथै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नु अभियानको मुख्य उद्देश्य हो।
प्रहरीले तीव्र गतिमा मोटरसाइकल चलाउने, सार्वजनिक स्थानमा होहल्ला तथा उच्छृङ्खल गतिविधि गर्ने, लागूऔषध प्रयोग वा कारोबारमा संलग्न व्यक्ति तथा अन्य शंकास्पद गतिविधिमाथि विशेष निगरानी राख्ने जनाएको छ।
एसपी रिजालले पछिल्ला केही दिनयता गौर बजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न ड्रोनसहितको विशेष सुरक्षा अभियान सञ्चालन गरिएको उल्लेख गर्दै नागरिकलाई कानुनको पालना गर्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।







