विराटनगर, असार १८ — सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको वनस्पती घ्यू र प्याकिङ सामग्री (पुटिङ) सहित दुई सिटी सफारी लाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीका डिएस पी तिलक खड्का का अनुसार नियमित सीमा सुरक्षा तथा जाँच अभियानका क्रममा विराटनगर महानगरपालिका–१५ स्थित रानी नाकाबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीलाई शंका लागेपछि जाँच गरिएको थियो । जाँचका क्रममा उक्त सवारीसाधनबाट १० कार्टुन वनस्पती घ्यू र प्याकिङ सामग्री (पुटिङ) सहित २ सिटी सफारी बरामद भएको हो ।
बरामद गरिएको वनस्पती घ्यूसहित सिटी सफारीको अनुमानित मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान र नियन्त्रणमा लिइएको सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन विराटनगर भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्म रानीले जानकारी दिएको छ ।
सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले नियमित रूपमा निगरानी र जाँच अभियान सञ्चालन गर्दै आएको जनाएको छ।







