काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका ४ हजारभन्दा धेरै प्रवेश पास सरुवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका ४ हजार ७२ वटा पास सक्रिय देखिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार यीमध्ये ५०७ वटा पास सङ्कलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ । सरुवा भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्रसमेत जारी गरेको डङ्गोलले बताउनुभयो ।
प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा १३ हजार ८१५ वटा प्रवेश पास जारी भएकोमा ९ हजारभन्दा धेरै अहिले पनि सक्रिय अवस्थामा छन् ।
कार्यविधिअनुसार जिम्मेवारीमा नरहेको ३ दिनभित्र पास फिर्ता गर्नुपर्ने व्यवस्था छ । समयमै निष्क्रिय नगरे दुरुपयोगको जोखिम रहने भन्दै प्रधानमन्त्री कार्यालयले यस विषयमा तत्काल सुधारका काम अघि बढाएको छ ।







