सोलुखुम्बु असार ६। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा सञ्चालन गरिएको पाँच दिने निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
असार २ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। शिविरमा ४९० जनाले ART/SMART (दाँत भर्ने) सेवा लिएका छन् भने ५११ जनाको दाँत निकालिएको छ।
त्यसैगरी १४७ जनाले फ्लोराइड उपचार, ७९ जनाले दाँत सफा (स्केलिङ) सेवा प्राप्त गरेका छन्। जटिल समस्या देखिएका २३ जना बिरामीलाई थप उपचारका लागि रिफर गरिएको थियो भने १७५ जनाको एक्स–रे परीक्षण गरिएको अस्पतालले जनाएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरप्रति स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरका क्रममा दाँत तथा मुख स्वास्थ्यको महत्व, नियमित सरसफाइ र रोगको रोकथामबारे समेत परामर्श प्रदान गरिएको अस्पतालले जनाएको छ।
स्थानीय बासिन्दाले निःशुल्क रूपमा विशेषज्ञ दन्त सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। अस्पताल प्रशासनका अनुसार यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई समयमै उपचारको पहुँच पुर्याउनुका साथै दन्त रोगको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी लाभान्वित







