काठमाण्डौ – १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि बूढानिलकण्ठ नगरपालिकाले जितेको छ । आज काठमाण्डौको कीर्तिपुर कभर्डहलमा भएको फाइनल खेलमा ग्रान्डी स्टार्सलाई ५०–३७ को अन्तरले पराजित गर्दै बूढानिलकण्ठले उपाधि जितेको हो ।

उपाधिसँगै बूढानिलकण्ठले ५० हजार तथा उपविजेता ग्रान्डीले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै उपाधि विजेता बूढानिलकण्ठकी अनुसा मल्ल मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । उदीयमान टोली बनेको सुनसरी बास्केटबल एसोसिएसनले पनि १० हजार रुपैयाँ पाएको छ भने उपत्यकाबाहिरबाट सहभागी टोलीको उदीयमान खेलाडी अन्नपूर्ण बास्केटबल एसोसिएसनकी निबृती शर्माले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

यही असार १ गतेदेखि नेपाल बास्केटबल संघको आयोजनामा शुरू भएको प्रतियोगितमा मोसफलका ३ सहित ८ टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिशमा सहभागी गराइने संघले जनाएको छ । साबा २०२६ को सेप्टेम्बर/अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको संघका अध्यक्ष भीमसिंह गुरुङ जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया