मधुमल्ला। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ को आयोजनामा सामुदायिक वन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूका लागि चारदिने क्षमता विकास कार्यक्रमअन्तर्गत लेखा व्यवस्थापन तालिम शुक्रबारदेखि सुरु भएको छ।सामुदायिक वन तथा संघसंस्थाहरूको आर्थिक तथा प्रशासनिक कार्यलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तालिम सञ्चालन गरिएको वडा अध्यक्ष मेघनाथ तामाङले जानकारी दिएका छन् । उनका अनुसार संस्थागत सुशासन, वित्तीय अनुशासन र स्रोत–साधनको प्रभावकारी परिचालनका लागि लेखा व्यवस्थापनसम्बन्धी ज्ञान अत्यन्त आवश्यक छ।
उद्घाटन कार्यक्रममा वडा सदस्यहरू भीमचन्द्र लिम्बू, रिना श्रेष्ठ दर्जी, सूर्यप्रसाद ओझा तथा वडा सचिव ख्याम दंगालको उपस्थिति रहेको थियो।
असार ८ गतेसम्म सञ्चालन हुने तालिममा वडा क्षेत्रभित्रका सामुदायिक वन तथा विभिन्न संघसंस्थाका २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिममा लेखा व्यवस्थापन, आर्थिक अभिलेख राख्ने विधि, वित्तीय पारदर्शिता, बजेट सञ्चालन, आय–व्यय विवरण तयार गर्ने प्रक्रिया तथा संस्थागत व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गरिने जनाइएको छ। शुक्रबारको पहिलो दिनको सहजीकरण सिताराम ओझाले गरेका छन् ।
वन व्यवस्थापनमा लेखा तालिम किन महत्वपूर्ण ?
सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणसँगै काठ तथा वनजन्य उत्पादनको बिक्री, सामुदायिक विकासका कार्यक्रम सञ्चालन, पूर्वाधार निर्माण तथा विभिन्न आयमूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। यस्ता गतिविधिबाट प्राप्त हुने आम्दानी र खर्चको सही अभिलेख राख्न नसकिएमा आर्थिक अनियमितता, विवाद तथा विश्वासको संकट उत्पन्न हुन सक्छ।
लेखा व्यवस्थापनसम्बन्धी तालिमले वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूलाई आय–व्ययको सही विवरण तयार गर्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन, वार्षिक प्रतिवेदन व्यवस्थित गर्न तथा सरकारी निकायसमक्ष आवश्यक विवरण प्रस्तुत गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। यसले सामुदायिक वनको सुशासन, जवाफदेहिता र दीगो व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।वडा कार्यालयले यस्ता क्षमता विकासमूलक कार्यक्रममार्फत स्थानीय संघसंस्था तथा सामुदायिक वनहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने बताइएको छ।







